02/06/2026
नगरपालिका कमिसनरहरूद्वारा अन्तर्राष्ट्रिय धावक सुनीता सुब्बालाई भव्य स्वागत तथा बधाईदार्जीलिङ:जापानको हिरोसाकीमा आयोजित अन्तर्राष्ट्रिय २४-घण्टा अल्ट्रा म्याराथोनमा रजत र कांस्य पदक जितेर ऐतिहासिक सफलता हासिल गरेकी दार्जीलिङकी छोरी सुनीता सुब्बालाई दार्जीलिङ नगरपालिकाका कमिसनरहरूले भेट गरी हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
हाम्रो दार्जीलिङ पहाडकी छोरी प्रख्यात अल्ट्रा म्याराथोनर सुनीता सुब्बाले अन्तर्राष्ट्रिय खेलकुदको मञ्चमा लगातार नयाँ इतिहास रचिरहेकी छन्। सन् २०२५ मा फ्रान्सको अल्बीमा आयोजित २४ घण्टाको म्याराथोनमा २१७.३२७ किलोमिटरको दूरी तय गर्दै उनले नयाँ राष्ट्रिय कीर्तिमान (National Record) बनाएकी थिइन्। उनको यही उत्कृष्ट योगदान र धावक क्षमताका कारण उनलाई फ्रान्समा उच्च सम्मान समेत मिलेको थियो।आफ्नो त्यही जीतको सिलसिलालाई कायम राख्दै, हालै २३–२४ मे २०२६ मा जापानको हिरोसाकी शहर (Hirosaki City) मा सम्पन्न प्रतिष्ठित IAU २४-घण्टा एसिया र ओशिनिया च्याम्पियनसिप २०२६ मा उनले फेरि एकपटक विश्वलाई चकित पारेकी छन्।
२२४ किलोमिटरको कीर्तिमानी दौड: सुनीता सुब्बाले २४ घण्टा लगातार कुदेर २२४.२४ किलोमिटर (१७९ ल्याप्स) को अविश्वसनीय दूरी तय गर्दै व्यक्तिगत रूपमा रजत पदक (Silver Medal) हासिल गरिन्। यस दौडसँगै उनले आफ्नो अघिल्लो फ्रान्सको रेकर्डलाई पनि पछि पारेकी छन्।टिम इन्डियालाई कांस्य पदक: व्यक्तिगत सफलता मात्र नभएर, उनको यो शानदार प्रदर्शनको मद्दतले भारतीय महिला अल्ट्रा रनिङ टोलीले प्रतियोगितामा कांस्य पदक (Bronze Medal) जित्न सफल भयो। यस खेलमा सुनीता सुब्बासँगै भारतीय टोलीकी तेन्जिन डोल्मा (२२८.९४ किमी) र अपर्णा चौधरी (२१४.५५ किमी) को संयुक्त प्रदर्शनले भारतलाई एउटा गौरवमय स्थान दिलायो।
एउटी आमा र गृहिणी भएर पनि दृढ इच्छाशक्ति र कडा परिश्रमका साथ दार्जीलिङ र सिङ्गो भारतको झण्डा विश्व मञ्चमा फहराउने सुनीता सुब्बाको यो ऐतिहासिक उपलब्धि सम्पूर्ण पहाडबासी र देशका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ।
पहाड फर्किएकी धावक सुब्बालाई नगरपालिकाका प्रतिनिधि र कमिसनरहरूले खादा ओढाएर उनको अद्भुत खेल क्षमताको उच्च प्रशंसा गरे। यस अवसरमा कमिसनरहरूले सुनीताको यो अन्तर्राष्ट्रिय उपलब्धिले दार्जीलिङ पहाड र सिङ्गो देशको नाम विश्वमञ्चमा चम्काएको र आगामी पुस्ताका लागि उनी ठूलो प्रेरणाको स्रोत बनेको बताए। नगरपालिकाको तर्फबाट उनलाई आगामी दिनहरूमा पनि हरसम्भव सहयोग र प्रोत्साहन दिइने प्रतिबद्धता व्यक्त गरियो।
उपस्थित ःप्रिया दिक्षीत,प्रेमिला दोर्जी भुटीया ,सन्दीया थापा,अरूणा राई अनि सुजता शंकर थिईन्।